News 31 Mar 2026

पर्सामा एसईईको तयारी पूरा, १० हजार ७०३ विद्यार्थी सहभागी हुने

यही चैत १९ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि पर्सामा सम्पूर्ण तयारी पूरा भएको छ। यस वर्ष पर्साबाट कुल १० हजार ७०३ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन्।

Placeholder image News Desk
WhatsApp Image 2026-03-31 at 20.05.16

शिक्षा विकास तथा समन्वय इकाइ पर्साका अनुसार जिल्लाका १५३ वटा विद्यालयबाट विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। तीमध्ये ७० वटा सामुदायिक तथा ८३ वटा निजी विद्यालय रहेका छन्।

पर्साका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मोतीप्रसाद भट्टराईका अनुसार जिल्लामा ग्रामीण क्षेत्रका १४ र शहरी क्षेत्रका १३ गरी कुल २७ वटा परीक्षा केन्द्र तोकिएका छन्। ती केन्द्रहरूमा परीक्षा सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनसमेत गरिएको छ।

परीक्षा व्यवस्थापनका लागि २७ जना केन्द्राध्यक्ष, ५८ जना सहायक केन्द्राध्यक्ष, ५२३ जना निरीक्षक, ९२ जना परीक्षा सहायक, १९९ जना कार्यालय सहयोगी (कास) तथा ४०५ जना सुरक्षाकर्मी गरी कुल १ हजार ३०४ जना जनशक्ति परिचालन गरिने जनाइएको छ।

यस वर्षको एसईई परीक्षा मर्यादित, शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यले केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ। उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

साथै, सबै परीक्षा केन्द्रका लागि प्रश्नपत्र सम्बन्धित नजिकका प्रहरी चौकीमा सुरक्षित रूपमा पु¥याइसकिएको र बाँकी आन्तरिक तयारी विद्यालयहरूले तीव्र गतिमा अघि बढाइरहेका छन्।

पर्सामा यस वर्षको एसईई परीक्षा व्यवस्थित र अनुशासित रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।